क्वारन्टिनलाई पहिले क्वारेन्टाइन भनिन्थ्यो, यो शब्द ल्याटीन शब्द Quaranta र इटालियन शब्द Quarantum बाट अएको मानिन्छ यी दुवैको अर्थ चालिस दिन हो ।
कुनै बेला (सन १३७४/७५ तिर) विश्वमा कलेरा र प्लेग जस्ता रोगको माहामारी थियो त्यासबेला विभिन्न गतिशिल देशहरूले बाहिरबाट आउने पानी जहाजलाई ३० दिन र पछि (४० दिन) अलग्गै निगरानिमा राखेर मानिसहरूलाई संक्रमणमुक्त पाइएमा मात्र प्रवेश दिने गर्थे र त्यही ४० दिनलाई Quarantine भनियो ।
प्लाण्ट क्वारेन्टिन भनेको बिरुवा तथा बिरुवा जन्य उत्पादनहरूको आयात निर्यात सँगै हानिकारक संक्रामक रोग, किरा, झारपात आदिको प्रवेश र विस्तारमा रोक लगाउने कानूनी उपाय हो ।

बिरुवा तथा बिरुवाजन्य उपजको अन्तर्राष्ट्रिय व्यापारको क्रममा बिरुवा स्वस्थतामा पर्न जाने संभावित जोखिमलाइ  नियमन गर्न र बिरुवा तथा बिरुवाजन्य उपजहरुको उत्पादन तथा उत्पादनोपरान्त लाग्ने रोग, कीरा, झारपात, चरा, मुसा आदिको क्षति नियन्त्रणका लागि आवश्यक विषादीको आयात, वितरण, उपयोग र व्यवस्थापन सम्बन्धि कार्यहरु गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रको स्थापना भएको हो। 

यसै अन्तर्गत यो क्वारेन्टिन कार्यालय टिमुरे, रसुवा २०६२ सालमा स्थापना भै हाल नेपाल चिनको आयात निर्यातका लागी प्रमुख नाकाको रुपमा स्थापित छ । रसुवागढी केरुङ्ग नाका रसुवा जिल्लाको लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्ज भित्र तथा भोटेकोशीको पूर्वी किनारमा अवस्थित छ । यस कार्यालयले प्रमुख रुपमा चिनसँग आयात तथा निर्यात हुने बिरुवा तथा बिरुवाजन्य उपजको हकमा बिरुवा स्वस्थताको प्रमाणपत्र जारी गर्ने, पैठारीका लागी आयात अनुमतिपत्र जारी गर्ने, कन्साइन्मेण्टको निरिक्षण परिक्षण गर्ने जस्ता कार्यहरु गर्दै आएको छ । तर वर्षको पौष र माघमा अत्यधिक जाडो तथा श्रावण, भाद्रमा पहिरोको कारणले प्राय गरी यातायात सवारी साधनहरू ठप्प जस्तै रहने हुन्छ ।